Bagmati Samachar Logo

विपक्षी ५ दलको बैठकः १ सय ४९ सांसद सहितका नेता सर्वोच्च जाने

काठमाडौंं । मध्यरात संसद विघटन गरि मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीको सिफारिसलाइ राष्ट्रपतिले सदर गरेपछि त्यसका विरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने भएका छन् ।

आज शनिवार बिहान संसद भवन बानेश्वरमा बसेको विपक्षी पाँच दलकाो बैठकले उक्त निर्णय गरेको हो ।

शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने जानकारी दिए ।

त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएका छन् । नेताहरुका अनुसार सके आइतबार नभए सोमवार सर्वोच्च अदालत जाने तयारी भएको छ ।