Bagmati Samachar Logo

एमाले विवादः बादललाई भोट नहाल्ने प्रदेशसभा सदस्यसँग स्पष्टीकरण सोध्यो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रामबहादुर थापालाई भोट नहाल्ने बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई भोट नदिएको भन्दै बैठकले माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरित भोट दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताए । स्पष्टिकरण १४ जना प्रदेश सभा सदस्यलाई सोधेको छ ।

अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे , अरुण नेपालसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टिकरण सोधेको छ ।

निर्धारित समयमा चित्त बुझ्दो स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने निरौलाले बताए ।

बैठकले कोरोनाका कारण मृत्यु भएका प्रदेशसभा सदस्य पशुपति प्रसाद चौलागाईंको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।