कोरोना नियन्त्रण गर्न प्रशासनद्वारा हेटौंडा आंशिक बन्द
हेटौंडा । नेपालमा कोरोना भाइरस तिब्र रुपमा बढेसंगै हटौंडामा पनि यसको नियन्त्रणका लागि बजार र सरकारी कार्यलयहरु आंशिक रुपमा बन्द हुने भएका छन् । मानिसको बढी भिडभाड हुने सरकारी कार्यालय र बजार आंशिक रुपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन अनुसार नागरिकको भीडभाड हुने कार्यालय, बजारका अत्याबस्यक भन्दा बाहेकका केही पसल बन्द गरिएको छ । जिल्लाभरीका सरकारी तथा निजी बिद्यालय, क्याम्पस बन्द गरिएको छ । हेटौंडाका सवारी साधनमा जोर विजोर गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सेवाग्राहीको भीडभाड हुने सेवा कार्यालयका काम बन्द गरेको हो । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा, यातायात व्यवस्था सेवा कार्यालय, मालोपात र नापी कार्यालय बन्द गरेको छ । कार्यालय बन्द भए पनि आन्तरिक कार्य भने गरिने जानकारी प्रशासनले दिएको छ ।
जिल्ला प्रशासनका प्रवक्ता देवचन्द्र गर्तौलाका अनुसार बैंक तथा वित्तीय संस्थालाई आलोपालो गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्था आलोपालोमा सञ्चालन भएसँगै सेवाग्राहीको भीड लाग्न थालेको छ । एटीएम सेवाहरू भने चौबीसै घण्टा खुला हुनेछन् ।
सहकारी संस्थाले सेवाग्राहीको घर तथा पसलबाट नगद संकलन गर्ने कार्य रोकी हप्तामा तीन दिनमात्र खोल्न पाउने छन् । ‘खाद्यान्न तथा तरकारी पसल पनि विहानको समयमा मात्र खोल्ने व्यवस्था मिलाएका छौं,’ उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले भने ।
हाल बजार क्षेत्रमा अन्य समयको तुलनामा भीडभाड ज्यादै न्यून छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मकवानपुरका स्थानीय तहमा आइसोलेसन वार्डको तयारी गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ८ तहमा अक्सिजनसहितको आइसोलेसन व्यवस्थापन भइसकेको छ । एक स्थानीय तहमा भने चाँडै व्यवस्थापन गरिने तयारी भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: