गण्डकीमा प्रदेश सरकारबाट माओवादी बाहिरीने
काठमाडौं । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ । गण्डकी प्रदेश सरकारमा माओवादीका दुई मन्त्री सहभागी छन् । २३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीलाई ब्युँताउने फैसला गरेपछि एमाले र माओवादी केन्द्र अलग अलग पार्टी भएका छन् । पार्टी नै फरकमात्र होइन दबुै पार्टीबीच विवाद पनि धेरै भएकाले मन्त्रीबाट राजीनामा दिने निर्णय गरेको हो । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् ।
माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए ।
गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७,माओवादी १३, कांग्रेस १५,जनमोर्चा ३ र जनता समाजवादीका २ सांसद छन् ।
मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ । गण्डकी प्रदेश सरकार बचाउनका लागि एमालेलाई थप ३ सांसदको आवश्यकता पर्छ ।
प्रदेश सभामा ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले साथ दिएको अवस्थामा एमालेको सरकार कायम रहने देखिन्छ ।
गण्डकी प्रदेशमा एमाले बाहेकको नयाँ सरकार गठन गर्नका लागि सबै राजनैतिक दलको गठबन्धन बन्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्: