महाठग ओलीले सिध्याउन खोजेपछि १९ पेजको बम हानेको हुँः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले आफूलाई सिध्याउन खोजेकाले १९ पेजको प्रस्ताव पेश गरेको बताएका छन् ।
आज सिन्धुलीमा कार्यकर्ताहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । ओलीले आफू र माओवादीले स्थापित गरेका एजेन्डा समाप्त पार्न खोजेको प्रचण्डले आरोप लगाए । प्रचण्डले भने, ‘ओलीको मलाई पनि सिध्याउनेबाहेक देखिएन । मैले पनि लड्नैपर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ । १९ पेज लामो दस्तावेजको बम ओलीमाथि हानेपछि महामारी सुरु भएको छ ।’
कम्युनिस्ट पार्टी एकताको प्रस्तावक आफू भएको दाबी गरे । उनले कम्युनिस्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरुले आफूलाई नै निसाना बनाएको जिकिर गरे ।
उनले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञासमेत दिए । ‘ओली त महाठग रहेछन् । यस्तो ठग देखिनँ । पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो । पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ । तर पनि भएन, ’ उनले भने ।
उनले अब आफ्नो गाँठो बलियो पारेर अगाडि बढ्ने बताए । आफ्नै संगठन र जनतालाई आधार मानेर अगाडि बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: