Bagmati Samachar Logo

संसद विघटन गर्ने मेरो निर्णय ठिक थियो, सर्वोच्चबाट फैसला गलत आयो: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ५ पुसमा गरेको संसद विघटनको निर्णय सहि भएको तर सर्वोच्च अदालतको निर्णय गलत आएको बताएका छन् । शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन ।
ओलील्े आफु एकताकै पक्षमा रहेको तर प्रचण्ड–नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी पनि गरेका एक जना सांसदले बताए ।

अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेको एक सांसदले बताए । ओलीको भनाइ भन्दै ती सांसदले भने ‘प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ, उहाँहरुले धोका दिए । यस विषयमा म आत्मालोचित छु ।’

ओलीले आफू पक्षीय सांसदहरूलाई अदालतले गरेको फैसला कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । तर संसद विघटन गर्ने आफ्नो निर्णय नै सही रहेको उनको दाबी थियो ।

अदालतले संसद पुन:स्थापना गरेर मेरो निर्णयविरुद्ध फैसला सुनायो, ओलीले भने, मेरो निर्णय सही थियो, फैसला गलत आयो । तर फैसला कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन ।

ओलीले सांसदहरूलाई पार्टी एकढिक्का भएर जान सक्ने तर प्रचण्ड–नेपाल पक्षका नेताहरूको गतिविधि राम्रो नभएको टिप्पणी गरे ।

ओली पक्षले आजको बैठकमा १ सय १५ जना भन्दा बढी उपस्थित भएको दाबी गरे पनि विशेष स्रोतका अनुसार ६० जना भन्दा बढी सांसद बैठकमा उपस्थित भएको बताएका थिए ।

जनता हाम्रै पक्षमा छन्, तपाईं अघि बढ्नुहोस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,ु बैठकमा उपस्थित एक अर्का एक सांसदले लोकान्तरलाई भने ।

प्रधानमन्त्रीले गरेका कामहरूमा चौतर्फी बाधा सिर्जना भएको र त्यसलाई चिर्न आफूहरू तयार रहेको ब्रिफिङ सांसदहरूले ओलीलाई गरेका एक सांसदले बताए ।

ओलीले देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदहरूलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिएका हुन् । हामी देश र जनताको पक्षमा छौं । जित हाम्रो हुन्छ, ओलीले भने ।

ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पास हुन नसक्ने दाबीसमेत गरे । अविश्वासको प्रस्ताव आए पनि जे आएपनि जसरी सरकार अघि बढेको छ त्यसहिसाबले पास हुँदैन, ढुक्क हुनुस्, भट्टराईले भने ।

शुक्रवार प्रचण्डनेपाल समूहको संसदीय दलको बैठक बसेको थियो । यो समूहले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।

आइतवार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठक अघि नेकपाका दुवै पक्षले आफ्नोतर्फ बहुमत रहेको दाबी गर्दै मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् ।