Bagmati Samachar Logo

ओली– विप्लव भोलि एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । सरकार र (विप्लव नेतृत्व) नेपाल कम्युनिस्ट पार्टी बीच भएको वार्तामा सहमति भएपछि प्रधानमन्त्री केपी शमौ ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहबाट ओली र विप्लवले सम्बोधन गर्ने भएका छन् । सरकार र विप्लव नेतृत्वबीच ३ बुँदे सम्झौता भोली सोहि सभाबाट सार्वजनिक गर्ने तयारी रहेको छ ।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको जानकारी दिएको छ ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक गतिविधिहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने सहमति गरेको छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने र सवै बन्दीहरु रिहा गर्ने सहमति भएको छ ।
ललितपुरमा एनसेल टावरमाथि बम प्रहार गरेपछि सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । ललितपुर विस्फोटबाट एक जनाको ज्यान गएको थियो ।

आज बिहान सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुवै पक्षले प्रेस विज्ञप्ति जारी गरी सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

उक्त सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने,आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण तरिकाबाट गर्ने र नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा हस्ताक्षर भएको छ ।