Bagmati Samachar Logo

संसद बिघटन रहर होइन बाध्यता होः प्रधानमन्त्री ओली

काठमाडौं । २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नदिएपछि संसद विघटन गरेको बताएका छन् । शुक्रबार राजधानीको नारायणहिटी संग्राहलय अगाडि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको भन्दै चुनाव नगराउन भनी केही समूहले निर्वाचन आयोगमा दवाव दिने गरेको समेत बताए ।

उनले आफूले चुनाव गराऔं भन्दा ‘मुलुक अस्थिरतातर्फ जाने’ टिप्पणी गरेको भन्दै उनले भने, ‘चुनावबाट अस्थिरता आउछ कि स्थिरता ?’ भन्ने प्रश्न गरे । आफूलाई काम गर्न नदिएपछि संसद विघटन गरेर निर्वाचनमा जाने घोषणा गरेको बताए ।

उनले निर्वाचनमा गए लोकतन्त्र मेटिन्छ भन्ने केही तत्वले भ्रम फैलाउँदै हिँडेको भन्दै कसैको पनि नाटकको भ्रममा परेर देशलाई गलत दिशातिर जान दिन नहुने बताए । उनले कोही कसैसँग पनि धम्कीको भाषा नबोल्ने भन्दै उनले अनुरोध, आग्रह गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘देश चुनावतर्फ गयो भने चुनावले फैसला गर्छ अब कसले नेतृत्व गर्ने भनेर’ ।

उनले मुलुकमा कोभिडको कारण अर्थतन्त्रमा केही असर परेको भएपनि अहिले यो नियन्त्रणमा आइसकेको बताए । आधा दशकभन्दा बढी आफूले संघियताका लागि, लोकतन्त्रका लागि लाडेको भन्दै अब ओली राजावादी बन्छ भन्ने हल्ला औचित्यहिन भएको दावी गरे ।

दुईरचार हजार मान्छे लिएर ओली सडकमा आउ भन्दै आफूलाई लल्कार्ने काम भएकोले बाध्य भएर आफूहरु पनि सडकमा आउनुपरेको बताएका छन् । उनले आफूहरुको सभाले आजको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको तथा कति नागरिकहरुले दुःखपाएकोप्रति क्षमामागेका छन् ।

उनले आजको सभा कास्टिङ मात्रै भएको भन्दै अर्को सभा १ गते बुटवलमा, ८ गते विराटनगरमा हुने पनि घोषणा गरे । उनले आफ्ना आलोचकहरुलाई मन थामेर बस्न आग्रह गरे । काठमाडौंमा आज भएको सभा इतिहासकै ठूलो जनसभा गरिएको उनले दाबी गरेका छन् । उनले भ्रम् फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा गरे ।

आफूहरुको जनसभालाई विथोल्न केही विप्लवलगायत केही तत्वहरुले बम राख्ने, सडकमा खाल्डाखुल्डी पार्ने काम गरेको आरोप लगाए । त्यस्तै हिजो मात्रै आमहड्ताल गर्नुले आजको सभा विथोल्न खोजेको प्रष्ट उदाहरण भएको दावी गरे ।