सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने ताकत छः प्रचण्ड
काठमाडौं । १७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् ।
सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए ।
प्रचण्ड नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गर्दै नभए सभामुख मार्फत प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी दिएका हुन् ।
‘सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ, संविधान हेरेर फैसला गर्छ भन्ने विश्वास छ । हामी सदन बोलाउँछौ, संसद बैठक बोलाएर ओलीलाई कारवाही गर्ने ताकत छ,’ प्रचण्डले भने, ‘हामी, कांग्रेस र जसपाले असंवैधानिक भनेका छन् । संसद बैठक बोलाएर संविधान र राष्ट्रघातको विरुद्ध कार्वाही गर्ने हैसियत राख्छ ।’
प्रचण्डले आफ्नै बुद्धि र कर्मले कलंकको टीका लगाएर ओली पतनको बाटोमा हिँडिरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्: