नेकपामा सधै किचलो , नेता आरोप प्रत्यारोपमा
कााठमाडौं । १८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवाद रोकिने छाँटकाँट देखिएको छैन । पछिल्लो समयमा नेकपामा सुरु भएको विवाद कम हुनुको सट्टा बढ्दै गएको छ । पछिल्लो समयमा झन विवाद बढेर पानी बाराबारको अवस्था आएको छ ।
कोरोना संक्रमणबाट प्रत्येक दिन करिब २० जना नागरिकले मृत्युवरण गरिरहेका छन्। दिनहुँ हजारौं संक्रमित थपिइरहेका छन्। जाडो याममा संक्रमण झन घातक बन्न सक्ने आँकलन यस क्षेत्रका विज्ञहरुले गरिरहेका छन्। यही क्रम जारी रहेमा कोरोनाका कारण देश थप संकटमा धकेलिने देखिन्छ।
नेपालमा कोरोनाका सुरुवाति केस फेला पर्दा र तीनको उपचार गरेर घर फर्काउँदा सरकारले ठूलै लडाई जिते झैँ प्रचार गर्ने गरेको थियो। सबै संक्रमितको सरकारले निशुल्क उपचार गर्ने भनेर सगर्व घोषणा गरेको थियो। अहिले कोरोना संक्रमणले रफ्तार लिइरहेका बेला संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट सरकारले हात झिकेको छ।
लामो समय लकडाउन हुँदा तथा संक्रमण फैलिँदै गएका कारण अधिकांश जनताको आयस्रोत ठप्प भएको छ। आफू कसरी पालिने, परिवार कसरी पाल्ने रु भन्ने समस्याले आम नागरिकलाई पिरोलेको छ।
धेरै नागरिकहरु कोरोना संक्रमण भई जटिल लक्षण देखिएमा उपचार खर्च जुटाउन नसक्ने अवस्थामा छन्। सिकिस्त भएको संक्रमितहरु अस्पतालको बेड नपाएर र खर्च अभावमा उपचारै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्ने देखिन्छ।
अहिले हेर्दा सरकार र सरकार हाँकिरहेको दल नेकपा यसप्रति कत्ति पनि गम्भीर नभएको आभास जनतालाई भइरहेको छ। सरकार र नेकपा नेतृत्वलाई कोरोना महामारी र जनताको समस्या भन्दा पार्टीको आन्तरिक किचलोकै समस्याले पिरोलेको छ। पार्टी किचलोमा झन–झन फस्दै गइरहेको छ। गत शनिबार भएको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ुअब छुट्टा–छुट्टै जाउँ, मिलेर जान सकिदैन’ भनेर भनेको कुरा प्रचण्डले खुमलटारमा आफूनिकटका नेतासमक्ष ब्रिफिङ गरेपछि नेकपा विवादले पुनः तरंग पैदा गरेको छ।
गत वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि बीचमा विवाद केही मत्थर भएको देखिए पनि विवादको बैठान हुन सकेको छैन।
शनिबार ओली–प्रचण्डबीच भएको भेटवार्ताको कुरा प्रचण्डले आइतबार खुमलटारमा ब्रिफिङ गरेपछि नेपाली राजनीति पुनः तरंगित भएको छ। उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा नेताहरुले फरक–फरक लाइनका तर्क र विचार प्रस्तुत गरिरहेका छन्
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार ओली निकट नेताहरुको छलफल र सोही दिन अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यको छलफलले विवादलाई उत्कर्षमा देखाएको थियो। विवाद बाहिरिएको दुई दिन बितेको छ। तर अब नेकपा विवाद कसरी समाधान हुन्छ भन्ने विषयमा अन्यौलता थपिएको छ।
विवाद समाधान गर्न नेताहरु आन्तरिक रुपमा लागिरहेका छन्। तर, पार्टीका नेतृत्व अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कुनै औपचारिक पहल गरेका छैनन्। नेताहरूबीच सोमबार र मंगलबार पनि कुनै संवाद हुन सकेन। अहिलेसम्मको घटनाक्रम हेर्दा अझै केहीदिन नेताहरूबीच औपचारिक संवाद हुने कुनै सम्भावना देखिँदैन।
दुई अध्यक्षबीच केही दिन छलफल हुनसक्ने सम्भावना नरहेको अध्यक्ष प्रचण्ड निकट स्रोतले बतायो। अहिलेको राजनीतिक सन्नाटा तोडिन अझै केही दिन लाग्न सक्ने ती नेताले बताए। ‘अहिलेसम्म त्यस्तो कुनै पहलकदमी देखिएको छैन। पछिल्लो विवादको विषयमा केही पनि भएको छैन भन्दा पनि हुन्छ’ ती नेताले भने, ‘तर यो समस्या समाधान हुन्छ। नेताहरु बसेर समाधान गर्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्ड समूहले सचिवालय बैठक बसेर पछिल्लो घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने माग गर्दै आएका छन्। तर, ओलीले बैठक नबोलाउने अडानमा छन्। प्रचण्डनिकट स्रोतका अनुसार ओलीले कुनैपनि पार्टी निर्णय नमान्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: