ओली–प्रचण्ड मिलाउन दूतको दौडधुप
काठमाडौँ । १६ साउन । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समयमा दुरी बढेको छ । १३ साउन (मंगलबार) ओली प्रचण्डका फरक फरक कदमले आपसमा दुरी बढेको छ । दुरी बढ्नुको साथै अविश्वास पनि बढेको छ । अहिले अध्यक्षद्धयबीचको विवाद मिलाउन दैनिकजसो दुतहरु सक्रिय भएका छन् । यो दौडमा दोस्रो तहका नेताहर सक्रिय रहेका छन् ।
अध्यक्षद्धयबीच संवाद हिनताको अवस्थामा बुधबार, बिहीबार र शुक्रबार दोस्रो तहका नेताहरुले दुई अध्यक्षसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । महासचिव विष्णु पौडेल दुई अध्यक्षको संवादहीनता तोडाउने दौडधूपमा छन् । उनले बिहीबार प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटेका थिए ।
१३ साउनमा बोलाएको स्थयी कमिटीको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि प्रचण्डले बहुमत सदस्यहरुको बैठक गरेका थिए । यद्यपि त्यो बैठक सञ्चालन गर्नुपूर्व प्रचण्डले अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ओलीसँग भेट गरेका थिए । तर, ओलीले स्थगित बैठकमा आफू नआउने बताएका थिए । प्रचण्डले बसालेको बैठकमा ओली समूहका नेता पनि सहभागी भएका थिएनन् । बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो । त्यहीबाट उनीहरुबीचको अविश्वास चुलीमा पुगेको हो । मंगलबारयता ओली–प्रचण्डबीच संवाद भएको छैन ।
प्रचण्डको नेतृत्वको बैठकले समेत ओलीसँग संवाद गर्न दाहाललाई नै जिम्मा दिएको थियो । ‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । यो अविश्वास हटाउन मध्यमार्गी भूमिकाका रुपमा दुवै अध्यक्षले महासचिवलाई अगाडि सारेका हुन् । अध्यक्ष प्रचण्डले महासचिवमार्फत अर्का अध्यक्ष ओलीलाई निकास निस्कने गरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । बिहीबार महासचिव पौडेललाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले ओलीलाई यस्तो प्रस्ताव गरेका हुन् ।
अध्यक्ष प्रचण्डले महासचिव पौडेललाई बोलाएर समाधानमुखी ढंगले छलफलका लागि ओली तयार हुनुपर्ने त्यहीअनुसार समय मिलाउन प्रस्ताव गरेका थिए । महासचिव पौडेलले प्रचण्डको प्रस्ताव ओलीलाई पुर्याएका छन् । तर, दुई अध्यक्षबीच भेटघाटको ससमय तय भएको छैन । यहीबीचमा प्रचण्ड निकट नेता जनार्दन शर्मा र पौडेलबीच दुई अध्यक्षको संवाद गराउने विषयमा पनि कुराकानी भएको छ ।
संवादहीनता तोड्न दोस्रो तहका अरु नेताले पनि ओली र दाहाललार्ई सुझाव दिएका छन् । बिहीबार पूर्वमाओवादी निकट केही स्थायी कमिटी सदस्य प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनीहरुले पनि दुई अध्यक्षबीच संवाद गर्न, सहमति जुटाउन र हरहालतमा पार्टी विभाजन रोक्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए ।
पूर्वमाओवादी तर्फका नेता रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाफी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणि खनाल र मणि थापालाई बोलाएर प्रचण्डले संवाद गरेका थिए । भेटमा सहभागी नेता गजुरेलले भने, ‘छलफल गरेर सहमति खोज्न सुझाव दिएका छौं । कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । एकता जोगाउनु पर्छ । र, उहाँ (प्रचण्ड) ले पनि यसका लागि आफूले पूरै प्रयास गरेको र अर्का अध्यक्षसँग थप संवाद गरेर निकास खोज्ने कोसिसमा रहेको सुनाउनु भएको थियो ।’
शुक्रबार दिउँसो पुन विष्णु पौडेल र शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
ओलीले बुधबार राति बालुवाटारमा पूर्वमाओवादी तर्फका यिनै ७ जना नेताहरुसँग सामूहिक छलफल गरेका थिए ।
पूर्वमाओवादीका यी नेतासहित पूर्वएमाले तर्फका नेता शंकर पोखरेल, सुवास नेम्वाङले बुधबार साँझ प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीसँग बालुवाटारमा भेट गरेका थिए । त्यो भेटमा महासचिव पौडेल पनि सहभागी थिए । भेटमा सहभागी एक नेताले बताएअनुसार ओलीले आफू पार्टी एकताकै पक्षमा रहेको र संवादबाट निकास निस्कने विश्वास दिलाएका थिए । बालुवाटार निकट स्रोतका अनुसार शुक्रबार पनि दोस्रो तहका केही नेताले दुई अध्यक्षको संवाद गराउने कोसिस गरेका थिए । त्यसमा सहभागी एक नेता भन्छन्, ‘मंगलबारको घटनाले दुवैपक्षलाई पाठ दिएको छ । अब नयाँ आधारमा संवादको वातावरण बनेको छ । यसले लामो समयदेखिको अनिर्णयको अवस्था तोडिन पनि सक्छ ।’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार शुक्रबार साँझसम्म दुई अध्यक्षबीच भेट भएको छैन ।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । अहिले नेपाल–दाहाल समूह दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा छ । तर, ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । यही कारण असार १० देखि जारी नेकपा बैठक पटक(पटक स्थगित छ ।
र, अनिर्णयको बन्दी बनेको छ । बरु, यहीबीचमा १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएका छन् ।
यस्तो थियो ओली–दाहाल भेटवार्ताको शृंखला
स्थायी कमिटी बैठकपछि संवानहीनताको अवस्था भए पनि असार १० मा स्थायी कमिटी बैठक सुरु भएदेखि ओली र दाहालबीच पटकपटक संवाद भएका थिए । मन्त्रिपरिषद् बैठकबाट संसद् अधिवेशन अन्त्यको सिफारिस गरेपछि स्थायी कमिटी बैठक स्थगित गरेर ओली–दाहालबीच असार १८ मा छलफल भएको थियो । त्यसपछि असार १९ मा अध्यक्षद्वयबीच करिब ४ घन्टा छलफल भएको थियो । असार २१ मा दुई अध्यक्षबीचको भेटमा भनाभन नै भयो । असार २२ र २३ मा ओली र दाहालले आफ्नो अडान कायम राख्दै धारणा व्यक्त गरेका थिए ।
त्यसपछि असार २६ मा फोन संवाद भएको थियो भने असार ३० मा दुई अध्यक्षबीच एक घन्टा छलफल भएको थियो । साउन १ मा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच दुई घन्टाभन्दा बढी छलफल भएको थियो ।
यस्तै, साउन ३ दुई अध्यक्षबीच भेटवार्ता र सोही दिन सचिवालय बैठक बसेको थियो । बैठकमा ुअर्लीु महाधिवेशनको ओलीको प्रस्तावमा दाहालले सहमति जनाएका थिए । सोही दिन साँझ दुवै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । दुई अध्यक्षबीच साउन ४ गते साँझ पनि छलफल भएको थियो । यस्तै, ९ गते ओली र दाहालबीच बालुवाटारमा एक घन्टा लामो भेटवार्ता भएको थियो ।
त्यसपछि भने साउन १३ गते बालुवाटारमा बहुमत सदस्यको बैठक सुरु गर्नुअघि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेट्न गएका थिए । त्यहीबेला छोटो भेटघाट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: