आफूलाई सर्वोपरी ठान्ने प्रवृति पतन भएर जान्छःनेता नेपाल

काठमाडौँ । ९ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोपरी प्रवृति पतन भएर जाने बताएका छन् ।
४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले आफूलाई सर्वोपरी ठान्ने र आफैंलाई केन्द्रबिन्दुमा राख्नेहरू पतन भएर जाने बताए ।
उनले भने, ‘विधिको पालना गरिएन भने, ‘आइएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरी ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रबिन्दुमा राख्न थालियो भने, आफूबाहेक दुनियाँमा कसैको केही अर्थ छैन, भन्ने ठान्न थालियो भने त्यस्तो अहंकारको भावनामा चल्न थालियो भने, त्यो व्यक्ति र प्रवृतिको पतन हुनेबाहेक अर्को केही हुँदैन ।’
नेता नेपालले त्यस्तो प्रवृतिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताए । उनले भने, ‘त्यस्ता विचार र प्रवृतिमा यदि हामी कोही चुर्लुम्म डुबेका छौं भने, त्यसबाट जोगिन समय छ । समय धेरै ढिला हुन थालेको छ ।’
नेता नेपालले कम्युनिस्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । कसैले पार्टी फुटाउन खोजे ऊ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उनले बताए । उनले भने, ‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाल छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थरथर काप्नुपर्ने आवश्यकता छैन ।’
नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताए । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उनले बताए । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘म मान्दिन, म मान्न बाध्य छैन आदिइत्यादी भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइँदैन । मलाई लाग्छ फेरी पनि बुद्धि सबैमा पलाउने छ ।’
सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडि बढ्न सके विचार, संगठनका हिसाबले पार्टी बलियो हुने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्: