Swornakshar Logo

पेरिसमा चार प्रहरीको हत्या

१७ असोज । काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरेको त्यहाँका सञ्चारमाध्यमहरूले बताएका छन् । उनीसँग चक्कु बरामद भएको पनि बताएका छन् ।

आक्रमणकारी पनि मुख्यालयकै एक कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ।

पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो।

फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ।

फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्रीले घटनास्थलको अवलोकन गरेका छन्।