Swornakshar Logo

कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानको योजना

पाकिस्तानले काश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएको छ । भारत प्रशासित जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खोस्ने भारत सरकारको निर्णयविरुद्ध पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो।

भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भंग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो।

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि काश्मीरको स्वामित्वको विषयमा दुई देशबीच तनाव रहँदै आएको छ । 
पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशीले भने, ‘हामीले काश्मीरको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाने निर्णय गरेका छौँ ।’ उनले सबै कानुनी पक्षबारे बिचार गरेर सो निर्णय लिइएको बताएका छन् ।

मुस्लिमबहुल काश्मीरमा भारत सरकारले मानवाधिकार उल्लंघन गरेको भन्दै सो मुद्दा त्यसकै सेरोफेरोमा हुने कुरेशीले बताए । भारतले भने काश्मीरमा मानवाधिकार उल्लंघन भएको कुरा अस्वीकार गर्दै आएको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर काश्मीर विवाद भारत र पाकिस्तानले आपसी छलफलबाट गर्नुपर्ने बताएका छन् ।

पाकिस्तानले मुद्दा हालेमा अन्तर्राष्ट्रिय अदालतको भूमिका परामर्शदाताको जस्तो हुन्छ। तर दुवै देशले अदालतको निर्णय आफूलाई मान्य हुने कुरामा पहिला नै सहमति जनाएमा उसले त्यो भन्दा माथिल्लो स्तरको निर्णय समेत गर्न सक्छ ।

हालसालै हेगस्थित सो अदालतमा भारतले आफ्ना नागरिक कुलभूषण जाधवलाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएको विरुद्ध मुद्दा हालेको थियो ।

अन्तर्राष्ट्रिय अदालतले जासुस भएको आरोप लगाइएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्ड पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको थियो ।

पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तमा सन् २०१६ मा समातिएका कुलभूषण जाधवलाई जासुस भएको भन्दै पाकिस्तानको सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।

५ अगस्टमा भारत सरकारले विवादित काश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ।