Swornakshar Logo

केन्द्रीय सदस्यबाट विप्लव नेकपाका एक पोलिटब्युरोसहित १८ जनालाई हटाइयो

१६ साउन । काठमाडौं ।पहिलोपटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ र्। पार्टीका गतिविधिमाथि प्रतिबन्ध लागेपछि सो कार्य गरिएको हो ।

गत साता बसेको पार्टी स्थायी समितिको बैठकले एक जना पोलिटब्युरो सदस्यसहित १८ जनालाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाएको हो ।

हटाइएका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला त्यस्तै, आजाद केसी, भेषराज भुसाल, सन्ध्या, सम्झना घर्ती, बाबुराम विक, प्रतीक, मकर, उत्तम, असिनालगायतलाई केन्द्रीय समितिको
सदस्यबाट हटाइएको विप्लव नेकपानिकट स्रोतले बताएको छ । अर्को बैठकले उनीहरुलाई अर्को जिम्मेवारी दिने बताइएको छ ।

१२ सदस्यीय सचिवालय
पार्टीको स्थायी समिति र पोलिटब्युरो भंग गरी १२ जनाको सचिवालय निर्माण गरिएको छ । महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्तामा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड यथावत् छन् । यसअघि स्थायी समितिमा रहेका विप्लव, खड्गबहादुर विक, हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढा मगर सचिवालयमा छन् ।

यस्तै, वीरजंग र अनिल शर्मा विरहीसहितका पोलिटब्युरो सदस्यलाई पनि समेटेर सचिवालय गठन गरिएको स्रोतले बताएको छ ।

सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि विप्लव नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य मोहन कार्कीसहित माथिल्लो स्तरका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीका नेता धमाधम पक्राउ पर्न थालेपछि पार्टीभित्रै आन्तरिक सूचना चुहाएको, गोपनीयता भंग गरेकोलगायतका विषयमा पार्टीमा उजुरी परेका छन् । केही नेता पार्टीको निर्देशनविपरीत सञ्चारमाध्यम तथा सरकारी निकायको सम्पर्कमा रहेकोमा पनि सो पार्टीले सूक्ष्म निगरानी गरिरहेको एक नेताले बताए ।