Swornakshar Logo

प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु

१५ असार । काठमाडौं । सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो ।

खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु हुदा स्थानीयले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

अराजक भिडले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीकै ज्यान जाने अवस्था आयो, त्यसपछि बाध्य भएर गोली चलाइएको हो’ उनले भने । सम्झाई बुझाई गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्ने सबै उपाय अपनाउँदा पनि भीड शान्त नभएपछि गोली चलाएको उनको भनाइ छ ।

एसपी भट्टराईका अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ ।