Swornakshar Logo

गृहमन्त्रीकाे जवाफ‍मा सांसद रुष्ट: ‘गाेली लागेकाे भए पाैडेलकाे हात ६–७ ठाउँमा किन भाँचियाे ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पाैडेलकाे मृत्युबारे दिएकाे जवाफमा सांसदहरु सन्तुष्ट भएनन् ।

गृहमन्त्रीले प्रहरीमाथि भएकाे आक्रमणसँगै जवाफी कारबाहीमा घटनास्थलमै कुमार पाैडेलकाे मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज चन्द समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको भन्ने खुल्न आएको जानकारी दिनुभएकाे थियाे ।

तर गृहमन्त्रीको जवाफपछि सत्तारुढ नेकपाकै सांसद जनार्दन शर्मा भने रुष्ट देखिनुभयाे । उहाँले गृहमन्त्रीको जवाफको प्रतिवाद गर्दै प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वास गर्ने आधार नभएको टिप्पणी समेत गर्नुभयो ।

प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भने पनि जनताको भने फरक धारणा रहेको सा‌ंसद शर्माकाे भनाइ थियाे । उहाँले रुष्ट मुद्रामा भन्नुभयाे, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन । गोली लागेर मारिएको भनिएकाे व्यक्तिको हात ६–७ ठाउँमा कसरी भाँचियाे ? हामीले विश्वस्त हुन सक्ने आधार रहेन ।’

समितिको बैठकमा जवाफ दिन उपस्थित भएका गृहमन्त्री तथा गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालसामु सांसद शर्माले जनतालाई सही जवाफ दिनुपर्ने बताउनुभयाे । पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिने आधार नरहेकाे बताउनुभयाे ।

बैठकमा सत्तारुढ दलकै अर्का सांसद तीर्था गाैतमले पनि मान्छे मारेर समाधान नहुने र वार्ताबाट निकास खाेज्न सरकारसँग आग्रह गर्नुभयाे । साथै अर्का सांसद राम सहायप्रसाद यादवले मुलुकलाई द्वन्द्वमा जान दिनु हुँदैन भन्दै पाैडेलकाे हत्याले द्वन्द्व बढ्न सक्ने बताउनुभयाे ।

यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट पौडेल मारिएका थिए । मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानबिन गरिरहेको छ ।