Swornakshar Logo

प्रदर्शनकारीले प्रहरीलाई फूल दिए, प्रहरीले बाटो छाडिदियो

४ असार । काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी विधेयक फिर्ता लिइसकेको छ । तर, उपत्यकमा आज पनि गुठियारले विरोध प्रर्दशन गरे। विधेयक खारेज गर्नुपर्ने माग सहित गुठियारले बुधबार उपत्यकामा विशाल प्रदर्शन गरे ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट माइतीघर मण्डला आएका प्रदर्शनकारीका कारण करिब ३ घण्टा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो ।

सांस्कृतिक बाजागाजा र झाँकीसहितको प्रदर्शनले माइतीघर मण्डला क्षेत्रको सडक ढाकियो । ललितपुरबाट आएको र्यालीले लगनखेलदेखि माइतीघरसम्मको सडक व्यस्त बनायो । कीर्तिपुरबाट कालीमाटी हुँदै आएको र्यालीका कारण त्रिपुरेश्वरसम्मको सडक अस्तव्यस्त भयोे ।

यता, भक्तपुरबाट आएको र्यालीले माइतीघरदेखि कोटेश्वरसम्मको सडक अस्तव्यस्त पार्यो । यसबाहेक काठमाडौंका भित्री सडक हुँदै आएको र्यालीले भित्री सडक पनि खुला हुन सकेनन् ।

गुठी विधेयकविरुद्धको आन्दोलनमा बनेपा, हेटौंडा, पोखरादेखिका गुठियार सहभागी थिए । ढोल, झ्याली र लाखे नाचसहित विरोध प्रदर्शनमा उत्रिएका गुठियारले सरकारसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्को नाराबाजी गरे ।

आन्दोलनमा गुठियारले केपी ओली मुर्दावाद, राष्ट्रघाती विधेयक खारेज गर, हाम्रो गुठीमा तिम्रो प्राधिकरणको पूजारी किन रु, सांस्कृतिक अतिक्रमण बन्द गरलगायतका नारा लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आन्दोलनमा सहभागीले कडा नारा लगाए । प्रधानमन्त्रीविरुद्ध गरिएका नाराबाजी यहाँ लेख्नै नसिकने तहका थिए । नेवारी र नेपाली दुवै भाषामा लेखिएका प्लेकार्डसँगै नेवारी भाषामा पनि उनीहरुले नाराबाजी गरे ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध पनि नाराबाजी गरे । यसअघि गुठी विधेयकविरुद्ध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । गुठी विधेयक प्रस्तुतकर्ता भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने नारा पनि प्रदर्शनकारीले लगाएका थिए ।

‘नेवा राज्य जिन्दावाद’का नारा गुन्जिएको आन्दोलनमा कतिपय युवाले ‘देखिस् नेवारको पावर’ लेखिएका प्लेकार्ड पनि बोकेका थिए । गुठी विधेयकविरुद्धको प्रदर्शनमा काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी, प्रदेश ३ की प्रदेश सभा सदस्य शोभा शाक्यलगायतको पनि उपस्थिति थियो ।

नेपाली झण्डा फहराउँदै आन्दोलनमा गुठी हरण संस्कृति मरण र हाम्रो संस्कृति हाम्रो पहिचान’का नारा पनि गुन्जिएका थिए । गुठी विधेयकविरुद्धको आन्दोलनमा उत्रिएका गायक योगेश्वर आमात्यले भने प्रदर्शनकारीलाई नियन्त्रण गर्न बसेका प्रहरीलाई फूल बाँडे ।

आन्दोलनकारी माइतीघरबाट अगाडि बढ्दै बानेश्वर पुग्दा प्रहरीले बाटो खुला गर्यो । बानेश्वर एभरेस्ट होटलअघिको क्षेत्र निषेधित क्षेत्र हो । तर, प्रहरीले भक्तपुर, बनेपा र पनौतीबाट आएका प्रदर्शनकारीलाई निषेधित क्षेत्र हुँदै नाराबाजी गर्दै जान छुट दियो । निषेधित क्षेत्र हुँदै भक्तपुरतर्फ लागेका प्रदर्शनकारीले संसद् भवन अगाडिबाट हिँड्दै गर्दा पनि नाराबाजी रोकेनन् ।

आन्दोलन पछि प्रदर्शनकारीले माइतीघर क्षेत्रमा सरसफाइ पनि गरे । सडकमा खसेका पम्पलेट र प्लेकार्ड उठाउँदै प्रदर्शनकारीले आन्दोलन टुंग्याए ।