Swornakshar Logo

तेल ट्यांकरमा हमला, इरानद्वारा आरोप अस्वीकार

एजेन्सी
वासिंगटन, ३१ जेठ । गल्फ अफ ओमानमा भएको एउटा शंकास्पद हमलामा दुईवटा ट्यांकरमा क्षति पुगेपछि यस क्षेत्रमा तनाव चुलिएको छ । विश्वकै व्यस्त तेल निर्यात मार्गमध्येको एउटा मार्ग नजिकै रहेका ती तेल ट्यांकरमाथि हमला भएको हो ।

यो हमलाको विषयलाई लिएर मध्य पूर्वमा पुनः तनाव उत्पन्न भएको छ । दुईमध्ये एक ट्यांकरका सञ्चालकले विस्फोटनपछि आगलागी भएको बताएका छन् ।

ती दुवै ट्यांकरका टोलीलाई सुरक्षित स्थलमा सारिएको छ । गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध लगाएपछि यस क्षेत्रमा तनाव चुलिएको छ ।

अमेरिकीले ती क्षेत्रमा इरानी हमलाको सम्भावना रहेको भन्दै आफ्नो सेनाको उपस्थिति बलियो बनाएको छ । अमेरिकाले पछिल्लो हमलामा पनि इरानको संलग्नता रहेको आरोप लगाएको छ । तर, इरानले सो आरोप खण्डन गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो आक्रमणमा इरानको हात रहेको आरोप लगाएका थिए । इरानका एक वरिष्ठ अधिकारीले बिनाआधार इरानमाथि आरोप लगाइएको भन्दै यसका पछि इरानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

तेल ट्यांकरमा विस्फोट भएपछि त्यसमा रहेका चालक दलका सदस्यको उद्धार गरिएको छ । इरानले कोकुका करेजियसमा सवार २१ चालक दल र फ्रन्ट एल्टेयरमा सवार २३ जनाको उद्धार गरेको जनाएको छ भने अमेरिकाले पनि आफ्ना नौसेनाले केहीको उद्धार गरेको बताएको छ ।