Swornakshar Logo

पाकिस्तानी पूर्व राष्ट्रपति जर्दारी पक्राउ

२७ जेठ । काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पिपल्स पार्टीका सहप्रमुख असिफ अली जर्दारी इस्लामावादबाट प्रहरीले पक्राउ गरेका छन् । उनले कालो धनलाई वैध बनाएको आरोपमा पक्राउ गरेको पाकिस्तान प्रहरीले बताएको छ ।

पाकिस्तानको उच्च न्यायालयले पूर्व राष्ट्रपति र उनकी बहिनी फरयाल तालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उनी पक्राउ परेका हुन् । उनीमाथि नक्कली खाताबाट वित्तीय अपचलन गरेको पनि आरोप छ ।

पूर्व राष्ट्रपति जर्दारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल गइसकेका छन् ।

उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनी आफ्नी पत्नी तथा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपति पदका लागि चुनिएका थिए ।

जर्दारीलाई लामो समयसम्म पाकिस्तानी राजनीतिका सबैभन्दा विवादास्पद व्यक्तिमध्ये एक मानिन्छ ।

जर्दारी र उनकी बहिनीमाथि यो मुद्दामा नक्कली खाताबाट ४.४ अर्ब रुपैयाँ देशभन्दा बाहिर पठाएको आरोप पनि छ ।

असिफ अली जर्दारीका छोरा बिलावल भुट्टोले बुवाको गिरफ्तारीपछि आफ्ना कार्यकर्तालाई शान्तिपूर्ण वातावरण बनाइराख्न आग्रह गरेका छन् ।