Swornakshar Logo

मधेसको पानी तिव्र रूपले सुक्दै

काठमाडौं । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ ।

‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ ।’

पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ ।’