Swornakshar Logo

प्रधानमन्त्री ओली युरोप भ्रमण प्रस्थान

२५ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी ओली एक साता लामो युरोप भ्रमणका लागि आज शनिबार प्रस्थान गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिने छन् । प्रधानमन्त्री ओलीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिनेछ ।

जेनेभाको अन्तर्राष्ट्रिय श्रम सम्मेलन सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत जानेछन् । उनी बेलायतमा तीन दिन रहनेछन् । बेलायत नेपालको सबै भन्दा पुरानो कुटनितिक सम्बन्ध रहेको देश हो ।

प्रधानमन्त्रीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग २८ जेठमा भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका साथै भूपू गोर्खा सैनिकका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बेलायतको भ्रमणपछि प्रधानमन्त्री ओली फ्रान्स पुग्नेछन् ।

फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ ।

समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुनेछ ।