Swornakshar Logo

उपत्यकामा सवारीसाधनको गति तोकिँदै, प्रतिघण्टा ५० किमिभन्दा बढी कुदाउन नपाउने

जेठ २४ । काठमाडौं । तपाईंले काठमाडौं उपत्यकाका सडकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारवाहीमा परी पाँच सयदेखि एकहजार पाँचसय रुपियाँसम्म जरिवाना तिर्नु पर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले यसबारे जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउन नपाउने प्रावधानको पहिलो चरणअन्तर्गत विस्तारित चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा लागु भइसकेको छ, दोस्रो चरणमा भक्तपुरमा र तेस्रो चरणमा काठमाडौँ उपत्यकाभरि नै यो प्रावधान लागु गरिने छ ।”

विस्तारित चक्रपथकोे कोटेश्वर–कलङ्की खण्डमा सवारी साधनको गति तोकी सकिएकोमा सो मापदण्ड उल्लङ्घन गर्ने चालकलाई मङ्गलबारबाट दण्ड जरिवाना व्यवस्था गरिसकिएको जानकारी महाशाखा प्रमुख पन्तले दिनुभयो ।