Swornakshar Logo

नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल र गोपी अछामीले जिल्लाको नेतृत्व हस्तान्तरण गरे

२३ जेठ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल र सचिव गोपी सार्की अछामीले पद हस्तान्तरण गरेकाछन्।

गत वैशाख ९ गते जिल्ला तहका कमिटी एकीकरण हुँदा केन्द्रीय सदस्यद्वय ढकाल र अछामीले मोरङ जिल्लाको अध्यक्ष र सचिवको जिम्मेवारी पाएका थिए ।

तर, आफूहरूको जिम्मेवारी केन्द्रीय कमिटीमा पनि रहेकाले जिल्ला कमिटीको नेतृत्व गर्नु अस्वभाविक भएकाले आफुले पद हस्तान्तरण गरेको अछामिले बताए ।

बिहीबार बसेको जिल्ला कमिटीको पूर्ण बैठक समक्ष ढकाल र अछामीले पद छाड्ने प्रस्ताव गरेको र सर्वसम्मत निर्णय गरेको अछामीको भनाइ छ ।

कमिटीले जिल्लाको अध्यक्षमा ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेती चयन भएको अछामीले बताए । ऋषिकेशलाई यसअघि कार्यदलले अध्यक्ष प्रस्ताव गरेको थियो भने उप्रेती साविक माओवादी केन्द्रको जिल्ला कमिटीका सहसंयोजक थिए ।

“हामी माथिल्लो कमिटीको जिम्मेवारी रहेकाले जिल्ला अधिवेशन गर्न पूर्णरूपमा सघाउँछौँ भनेर जिम्मेवारी हस्तान्तरण गरेका छौँ,” अछामीको भनाइ छ ।