Swornakshar Logo

युवाहरुमा देश बनाउने भावना र अठोट नजागेसम्म देश बन्दैनः प्रधानमन्त्री ओली

२२ जेठ । काठामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैँले बनाउनुपर्नेमा जोड दिएका हुन् ।

२०७२ साल फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर मै बनाउँछु मेरो धरहरा भनेको स्मरण गर्दे उनले मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिले सम्म देश नबनेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौँबासीले काठमाडौँ म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरेमा काठमाडौँ बन्ने विश्वास व्यक्त गरे ।

महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने बताइ ।

अन्य देशको तुलनामा नेपालमा प्रसस्त सम्भावना रहेकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न उनले सुझाव दिए ।

महानगरले स्वदेशमै बसी उद्धमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्म विकास गर्ने उद्देश्यसाथ हाम्रो काठमाण्डौ हामी बनाउँछौ नारा दिईएको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गरेको हो ।

यसका सहभागी ७० वटा मध्ये२५ वटा समुहले विभिन्न ५ चरण पार गर्न सफल भएका थिए । यस प्रतिस्पर्धामा एनिटाईम ट्वाईलेट परियोजना सर्वोत्कृष्ट भएको छ । यसले आफ्नो क्याटगोरीमा पनि विजयी भएको छ ।

सर्वोत्कृष्टमा ५ लाख र आफ्नो क्याटगोरीमा २ लाख गरी ७ लाख रुपैया पाएको छ । यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मुख्य ४ विषयहरु समेटिएको थियो भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाईएको थियो ।