Swornakshar Logo

इलाम र पाँचथरका मालपोत अव नमुना


२१ जेठ । काठमाडौं । इलाम र पाँचथरका मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार दुवै जिल्लामा वेग्लावेग्लै कार्यक्रम गरी नुमना मालपोत घोषणा गरेको भुमिसुधार मन्त्री अर्यालकी प्रेस संयोजक देविका घर्तीले बताइन् । मन्त्री अर्यालले अबको सेवा जनता खुसी खालको हुनुपर्ने बताइन् ।

मन्त्रालयसँग जोडिएका केही कार्यालयहरूप्रति जनताले प्रश्न उठाइरहेको भएको भन्दै मन्त्री अर्यालले केही कर्मचारीले गरेको बदमासीका कारण सिंगो संस्थामाथि प्रश्न उठेको पनि बताइन् ।
देशैभरका कार्यालयलाई नमुना बनाउने, डिजिटलाइजेसनमा लैजाने तयारीमा रहेको उनले बताइन् । जग्गा प्रशासनसँग जोडिएर आउने असहजता, सेवा प्रवाहसँग जोडिएर आउने प्रश्नलाई समाधान गर्दै जाने भन्दै मन्त्री अर्यालले डिजिटलमा जान धेरै झञ्झटिलो भएकाले केही समय भने लाग्ने बताइन् ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले सम्पूर्ण डकुमेन्ट स्क्यान गरेर डिजिटलाइज्ड गरिने बताए । पाँचथरमा सोमबार नमुना मालपोत कार्यालयको शुभारम्भ गरिएको हो । देशभर १३१ वटा मालपोत कार्यालय छन् । हालसम्म ६० कार्यालयमा अनलाइन सेवा शुरु भइसकेको छ ।

नमुना मालपोत कार्यालयमा कम्प्युटर प्रणाली र क्यासलेस सेवामा जोडिएको छ । त्यसैगरी, डिजिटलाइज्ड अभिलेख, सूचना प्रविधिमैत्री, जनताको सहज पहुँच, वान डोर सिस्टम, हेल्प डेस्क, प्रतिक्षालय, टेलिभिजन, अपांगमैत्री शौचालय, स्तनपान कक्षका साथै तातो र चिसो पानीको व्यवस्थासमेत गरिएको छ ।