Bagmati Samachar Logo

विप्लव नेतृत्वको नेकपाले भन्योः हामीले चौकी आक्रमण गरेका होइनौं (विज्ञप्तिसहित)

२० जेठ । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले गलत अफवाह फैलाएको पार्टीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको प्रस्ट पारेको छ ।

‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै पनि नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप यस्तो समाचार ल्याएको प्रस्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

छेस्काममा आक्रमणको प्रयास भएको भन्दै सुरक्षा निकायले हवाई तथा स्थलगत गस्ती सुरु गरेको छ । आइतबार राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चार प्रहरीले भागेर ज्यान जोगाएर भागेको प्रहरीले बताउँदै आएको छ ।

प्रहरी चौकी आक्रमणको प्रयास भएपछि विराटनगर र काठमाडौंबाट प्रहरी र सशस्त्र प्रहरीको टोली छेस्काम पुगेको छ । विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी हेलिकोप्टरबाट छेस्काम उत्रिएका छन् ।