Swornakshar Logo

सानेपामा भयानक दुर्घटना, पत्रकारसहित २ जनाको मृत्यु

जेठ १९। ललितपुर । सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३ः ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भएको हो ।

एकान्तकुनाबाट बल्खु जाँदै गरेको बा१६च ४७४३ नम्बरको स्कारपियो अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको बा१२च ५७७६ नम्बरको स्कारिपयो र बा४३प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमौरियाले जानकारी दिए ।

ज्यान गुमाउनेमा ललितपुर गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७ वर्षीय चन्द्रमणि मूडभरी रहेका प्रवक्ता चिमौरियाले बताए ।

गोविन्द शर्मा किसान टेलिभिजनका पत्रकार समेत हुन् । शर्मा मोटरसाइकलको पछाडि बसेका थिए । गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।