Swornakshar Logo

पाँचथर हत्याकाण्डः भागेर ज्यान जोगाएकी सीताको जिम्मा प्रदेश सरकारले लियो

१८ जेठ । पाँचथर । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मा प्रदेश–१ को सरकारले लिएको छ ।

उनी गएको जेठ ६ गते राति २ घरमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी थिइन् । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश सरकारले जिम्मा लिएको हो । सीतालाई सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश सांसद सीता थेबेले बताए ।

जेठ ६ गते राति भएको विभत्स हत्याकाण्डमा मामाघर बसेर पढ्दै गरेकी सीता भागेर बाँच्न सफल भएकी थिइन् । घटनामा सीता बस्दै आएकी मावली घरतर्फका बमबहादुर फियाकसहित हजुरआमा, कान्छि सानिमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो । यस्तै अर्को घरतर्फका ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको थियो ।
९ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डमा खजुमले भागरे ज्यान जोगाएकी थिइन् । भाग्ने क्रमम घाइते भएकी सीताको दमकमा रहेको लाइफ लाइन अस्पताल दमकमा उपचार भएको थियो ।