विप्लवले विज्ञप्ती निकालेर काठमाडौंमा बम विष्फोटको जिम्मा लियो
१३ जेठ । काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोटको जिम्मा लिएको छ । विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको पनि सो पार्टीले स्वीकारेको छ । सोमबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ४ जनाको निधन भएको बताएका हुन् । चारै जना आफ्नो पार्टीको नेता कार्यकर्ता भएको स्वीकारेका छन् ।
विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी केपी सरकार र उसको फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ । विज्ञप्तिमा राज्य आतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आह्वान समेत गरिएको छ । सो पार्टीले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: