Swornakshar Logo

नक्कली भारतीय नोट सहति समातिएका युनिस अन्सारी पत्रकार सम्मेलनमा मुस्कुराउदै आए

१० जेठ । काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका युसिन अन्सारीसहित ६ जनालाई सार्वजनिक गरेको छ ।

कतारको दोहाहुँदै नेपाल आएका तीन पाकिस्तानी नागरिकले नक्कली भारतीय नोट नेपाल भित्र्याएका थिए । नक्कली नोट सबै २ हजार दरका छन् ।

पक्राउ पर्ने पाकिस्तानी नागरिकहरुमा ४९ वर्षीय मुहमद अख्तर, ३९ वर्षीया नादिया अनवर र ६७ वर्षीय नासिर उद्दिन रहेका छन् । अख्तरको पासपोर्ट नम्बर एए १३४५४९४ नादियाको सिएन १८२२०३२ र नासिरको एआर २४०६४३२ रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डिआईजी शैलेश थापाले जानकारी दिए ।

उनीहरुले कालो र निलो २ वटा लगेजमा नक्कली भारतीय रुपैयाँ ल्याएका थिए । तीन जना नेपाली भने उनीहरुले ल्याएको रुपैयाँ रिसिभ गर्न जाँदा पक्राउ परेका हुन् । नक्कली रकम रिसिभ गर्न जानेका लतिलपुर ताल्छिखेल बस्ने युनिस अन्सारी, रौतहटका सुयल खान र भक्तपुर सुर्यविनायकका सुदन रानाभाट छन् । रानाभाट युनिस अन्सारीका सवारी चालक हुन भने सुयल अन्सारीकै सालो हुन् ।

को हुन अन्सारी ?
युनिस अन्सारी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा हुन । यस अघिसमेत उनी पटक पटक नक्कली नोट प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनी लागूऔषध खैरो हिरोइन सहित पक्राउ परेका थिए ।

लागूऔषध कारोबार र नक्कली भारतीय रुपैयाँको कारोबार गर्नु पूर्व उनले नेसनल टेलिभिजन सञ्चालन गरेका थिए । नक्कली नोट प्रकरणमा पक्राउ परेपछि टेलिभिजन बन्द भएको थियो ।

प्रहरीका अनुसार अन्सारी यस अघि २५ लाख र ३५ लाख भारतीय नक्कली नोट सहित पक्राउ परेका थिए । सोही अभियोगमा उनी चार वर्ष कैद सजाय काटेर निस्किएका थिए ।

प्रहरीका अनुसार अन्सारी पहिलोपटक २०६५ पुस काठमाडौंको त्रिपुरेश्वरको ब्लुबर्ड होटलबाट २५ लाख नक्कली भारुसहित पक्राउ परेका थिए । उनी जेलमै हुदाँ उनकै योजनामा फेरि २०६७ असोजमा ४० लाख भारतीय नक्कली नोट सहित उनका एजेन्ट पक्राउ परेका थिए । उनी माथि २०६७ सालमा केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो ।

शुक्रबार सार्वजनिक गर्न ल्याउदा युनिस मुस्कुराउदै आए । उनले पत्रकार सम्मेलनमा प्रहरीले लगाई दिन खोजेको मास्क लगाउन समेत इन्कार गरे । प्रहरीका अनुसार उनी नियमित नेपाल पाकिस्तान गरिरहन्छन् ।