Swornakshar Logo

अमेरिकी राजदूतको संवादमा माधव नेपालको आपत्ति

८ जेठ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत –यान्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि जनाएका छन् ।

अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उनकै फेसबुक पेजमार्फत सार्वजनिक भएपछि नेताहरुले विरोध गरेका हुन्

वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादाविपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गरएका छन् ।

बुधबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन् त्यसको पालना गर्नेपर्ने बताए ।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कूटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अनुमति नरहेको दाबी पनि गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिबिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने बताए । उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई सचेत गराए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदूत बेरीलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको बताए ।