Swornakshar Logo

जनयुद्धको समयमा बेपत्ता ४७ जनाको कथामा बनेको ‘भैरवनाथ’


४ जेठ । काठमाडौं । जनयुद्धको समयमा तत्कालिन भैरवनाथ गणबाट बेपता भएका ४७ जनाको कथामा तयार गरिएको वृतचित्र ‘भैरवनाथ’ सार्वजनिक गरिने भएको छ ।
आइतबार कुमारी चलचित्र भवन कमलपोखरी बिहान ८ः३० बजे विभिन्न दलका शीर्ष नेता तथा भीआईपी माझ वृतचित्र सार्वजनिक गर्न लागिएको हो ।

कालीदेस्कोप प्रोडक्सन प्रा।लि।को प्रस्तुति रहेको वृतचित्र ‘भैरवनाथ’ले ‘यस्तो पीडा अब कुनै नेपालीले भोग्नु नपरोस्, यस्तो बर्बरता अबको पुस्ताले देख्नु नपरोस्’ भन्ने नारा उठाएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तकिारी)को केन्द्रीय समितिको संयुक्त आयोजनामा हुन लागेको वृतचित्र प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, मोहन वद्य (किरण), मोहन क्रिम सिंह, मानव अधिकारवादीहरु र बरिष्ठ पत्रकार लगायतलाई निम्त्याइएको बताइएको छ ।

सरकार, अदालत, संसद, प्रदेश सरकार र स्थानीय निकायलाई बोलाएर अहिलेको परिवर्तन सजिलो तबरले आएको होइन, परिवर्तनका लागि मानिसले के कस्ता बलिदान दिए भन्ने सम्झाउन र सोही अनुसार आगामी दिनमा काम गर्न तिर अग्रसर गराउन ‘वृतचित्र’ प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।

वृतचित्रको प्रदर्शनले बृहत शान्ती सम्झौता भएदेखि अहिलेसम्म धेरै सरकार बनेपनि मेलमिलाप आयोग र बेपता छानबिन आयोगले गर्न नसकेको प्रभाकारी कामको बिषयमा पनि सम्बन्धित निकाय र व्यक्तिलाई समेत सचेत गराउने विश्वास आयोजकको रहेको छ ।

प्रतिष्ठा कुसुक केसी र राजकुमारको अभिनय रहेको वृतचित्रमा दुर्गा केसीको कथा तथा निर्माणमा तयार भएको हो । पर्वत किरण केसी कार्यकारी निर्माता रहेको वृतचित्रलाई सम्पादन तथा निर्देशन शिव पुरीले गरेका हुन् ।

अष्टमान महर्जनको द्धन्द्ध रहेको वृतचित्रमा एलिस कार्कीले पाश्र्रव संगीत दिएका छन् ।