Swornakshar Logo

६५ आरोही सगरमाथाको चुचुरामा

जेठ ३ । सोलुखुम्बु – वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि सुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए ।

बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् ।

विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष ४० करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।