Swornakshar Logo

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व,युवा माओवादीलाई विद्यार्थी एमालेलाई


२ जेठ । काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहीबा बसेको सचिवालयको बैठकले जनवर्गीय संगठनहरुको नेतृत्वको टुंगो लगाएको छ।

एक वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो एक वर्षसम्म जनवर्गीय संगठनहरुको भने एकता हुन सकेको थिएन ।

पार्टी एकता भएको एक वर्षको उपलक्ष्यमा जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउने गरी बिहीबार बसेको नेकपाको सचिवालय बैठकले विघटित जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागबण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजकमा सहमति जुटेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए ।
छलफलबाट टुंगो लागेका जनवर्गीय संगठनका पदाधिकारीको औपचारिक घोषणा भने शुक्रबार विशेष कार्यक्रम गरेर सार्वजनिक गरिने पनि उनले बताए।
विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् ।तर तामाङले सहसंयोजकमा बस्न नमाने पंचा सिंह हुने छन् ।

सहसंयोजक तोकिएका रञ्जित माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हुन । रञ्जित सहसंयोजक बन्न तयार नभए पन्चा सिंह बनाउने सहमतिसमेत भएको सचिवालय स्रोतको दाबी छ ।

युवा संगठनमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएका छन् । दीपशिखा तत्कालीन माओवादीको वाईसीएलका अध्यक्ष हुन् ।

महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारीको नाममा सहमति जुटाइएको छ । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजीवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहयात्री सहसंयोजकमा सहमति जुटेको छ ।

यसैगरी मुस्लिम संगठनमा सराज महमद फारुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्माको नाममा सहमति जुटेको छ ।

यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक हुने भएका छन् भने सहसंयोजकको नाममा सहमति भएको छैन ।