Swornakshar Logo

प्रदेश ३ को राजधानीका लागि बजेट अगावै मतदानको मिति तोक्न माग

हेटौंडा– प्रदेश ३ को स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यबिधिमाथि प्रदेश सभामा आज बिहीवार छलफल भएको छ । नेकपाकका मुख्य सचेतक रामेश्वर फुयालले राजधानी तोक्ने कार्यबिधि सम्बन्धी सभामा छलफल गर्नका लागि प्रस्ताब पेस गरेका थिए ।

छलफलमा सहभागी सांसदहरुले प्रदेशको स्थायी राजधानीका लागि मतदानको मिति यथासिघ्र तोक्नका लागि माग गरेका छन् । कांग्रेस सांसद प्रभा तामाङले प्रदेशको स्थायी राजधानी मात्र नभई नामाकरणको कार्यबिधि पनि प्रदेशसभा ल्याउनुपर्ने बताइन् ।

विवेकशील पार्टीका सांसद रमेश पौड्यालले राजधानीको कार्यविधि स्पष्ट ढंगले नआएकोमा आपत्ति जनाए । उनले कुन मितिमा राजधानीको मतदान हुने भन्ने उल्लेख नभएको बताउँदे भने– स्थायी राजधानीको मतदानको प्रकृया एक बर्ष, दुई बर्ष वा पाँच बर्ष भित्रमा कहिले गर्न खोजीएको हो मतदानको मिति किन तोकिएन। ’

सभामा नेकपाका सांसद रत्न प्रसाद ढकालले स्थायी राजधानीका लागि पाँच जिल्लामा मतदान गर्दा राजधानी तोकिनेमा विस्वस्त नभएको बताए ।

स्थायी राजधानीका लागि दुईतिहाई प्रदेश सभा सदस्यले मतदान गर्नुपर्ने भएकाले धेरैतिर मतदान गर्दा राजधानी तोक्न समस्या हुने उनको भनाई थियो ।

नेकपाका अर्का सांसद प्रेमबहादुर पुलामीले राजधानीसँगै नामाकरण पनि टुङ्गो लगाउनुपर्ने बताए । राजधानी र नामाकरणको बिषयमा छलफल गर्नका लागि उनले आग्रह गरे ।

नेकपाका सांसद ओम ग्लानले राजनीतिक सहमतीबाट स्थायी राजधानी तोकिँदा सबैले स्वीकार्य बन्ने बताए । विवेकशील नेपाली दलका सांसद विराज भट्ट श्रेष्ठले राजधानी तोक्ने काम व्यक्तिगत स्वार्थमा अल्झिएको आरोप लगाएका छन् ।