Swornakshar Logo

पार्टीमा विचार र सिद्धान्तको विषयमा प्रचण्ड र इश्वर पोखरलेबीच मञ्चमै घोचपेच

१ जेठ । काठमाडौ । पार्टी निकट दुई युवा संघ एक हुनै लाग्दा बुधबार युवा संघ, नेपालले स्थापनाको २९ औँ वर्षगाँठ मनायो । प्रचण्ड भन्दा पहिला बोलेका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीले सिद्धान्तको विषय टुंग्याउन नसक्दन विचारका हिसाले नेकपा हाँस न कुखुराको चालमा देखिएको बताए । उनी यहि रोकिएनन अगाडि भने विचार र. कार्यदिशा नभएको कम्युनिस्ट पार्टी तासको महल जस्तै ढल्छ । नेकपामा अहिले प्रष्ट राजनीतिक र वैचारिक कार्यदिशा नभएको भन्दै अब त्यसबारे पार्टीमा छलफल हुनुपर्ने बताए ।

कार्यक्रमको मुख्य वक्ताका रूपमा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र राजनीतिक कार्यदिशा आधारभूत रूपमा मिलेकाले पार्टी एक भएको बताए । कार्यक्रममा प्रचण्डले हिजोकै विचार, दृष्टिकोण र सिद्धान्त बोकेर हिँडे जडसूत्र होइने भन्दै परिवर्तित सन्दर्भमा नयाँ विचार र दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

उनको संकेत तत्कालीन नेकपा एमालको पाँचौं महाधिवेशनबाट पारित राजनीतिक, वैचारिक कार्यदिशा जनताको बहुदलीय जनवादतिर थियो । पछिल्लो समय नेकपामा दुईथरी धार देखा परेको छ । पूर्वमाओवादी केन्द्र धारले अबको राजनीतिक विचारधारा समाजवाद हुनुपर्ने तर्क अघि सारेको छ भने पूर्वएमालेले मदन भण्डारीले तयार पारेको सैद्धान्तिक कार्यदिशा जनताको बहुदलीय जनवादमै टेकेर जनताको जनवाद बनाइनुपर्ने तर्क अघि सारेको छ ।

तर, नेता ईश्वर पोखरेलले भने सबैका राम्रा विचार, दृष्टिकोण अवलम्बन गर्दैजाँदा निजत्व नरहने र हाँसको चाल न कुखुराको चाल हुने टिप्पणी गरेका थिए । उनले विचार र सिद्धान्त टुंगो नलागेसम्म नेकपा जतिसुकै ठूलो भए पनि त्यसले समाजवादी लक्ष्य भेदन गर्न नसक्ने बताए ।

“विचारमा स्पष्ट नहुँदा विश्वका ठूल्ठूला कम्युनिस्ट पार्टी पुँजीवादीहरूको एक गोली नखाइए ढले,” उनको भनाइ थियो । प्रचण्डले भने कम्युनिस्ट आन्दोलनमा जडसूत्रवाद देखा पर्ने र त्यसले रुसमा लेनिन, चीनमा माओत्सेतुङ, भियतनाममा होची मिन्ह, क्युवामा फिडेल क्यास्ट्रोले गरेकै क्रान्ति गर्नुपर्छ भनेर विचारमा एक्लै किन नहोस् टसको मस नहुने तर्क गरे ।

आजको कम्युनिस्ट मुख्य चुनौती नै यही विचारधारा भएको उनको दृष्टिकोण थियो । प्रचण्डले एकता केन्द्र मशाल गठनदेखि नै आफूमा वैचारिक गतिशिलता रहेको र पार्टी गठन र विघटन तथा पछिल्लो नेकपा गठन त्यसैको कडी भएको बताए ।

“कतिपयले मलाई अस्थिर भन्छन्,” खचाखच भरिएको हलतिर फर्किएर प्रचण्डले भने, “म तपाईंहरूसामु उभिएर सम्बोधन गर्दैछु, मलाई आरोप लगाउनेहरू कहाँ छन्, आफैँ विचार गर्नुहोला ।”

उनले मोहन वैद्यतिर संकेत गरेका थिए ।