राष्ट्रिय सभाका अध्यक्ष पनि प्रस्तावित मिडिया विधेयकको विपक्षमा
३० बैशाख । काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकको विपक्षमा उभिएका छन् । पत्रकार महासंघका पदाधिकारीसामु तिमल्सिनाले आफू पनि प्रस्तावित विधेयकको विपक्षमा रहेको बताएका हुन् । उनले विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्ति गरेका छन् ।
सोमबार सिंहदरबारमा सो विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका नेपाल पत्रकार महासंघको नेतृत्वसँग उनले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै सो विधेयकलाई पारित गराउने बताए ।
उनले विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय सभाका सांसदहलाई आग्रह गर्न पनि महासंघको नेतृत्वको ध्यानाकर्षण गराए । लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पूरक भएकाले त्यसविरुद्ध जाने कामलाई संघीय संसदले आफ्नो विधि र प्रक्रियाभित्रै रहेर सच्याउने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
अध्यक्ष तिमिल्सिनाले सो विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने पनि बतए ।
ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको सो विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराए । उनले लोकतन्त्रमा पनि सरकारले प्रेस स्वतन्त्रा विरोधी प्रावधान राखेर कानून बनाउन लागेको भन्दै महासंघले आन्दोलन गर्नुपरेको पनि स्पष्ट पारे ।
विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुने गरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाख रुपैयाँसम्म जरिबाना हुने’ प्रावधान प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: