Swornakshar Logo

कांग्रेस जनताले पत्याउने पार्टी बन्‍नुपर्छः नेता पौडेल

२९ बैशाख । विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी बनाउन आवश्यक रहेको बताएका छन् ।

यसका लागि कांग्रेसभित्र व्यापक परिवर्तन आवश्यक रहेकोमा पौडेलको जोड छ । नेपाल महिला संघको दुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार विराटनगरमा उद्घाटन गर्दै पौडेलले भने,‘‘कांग्रेको अहिलेको जोड पार्टीप्रति जनताको विश्वास बढाउनेमा केन्द्रीत हुनुपर्छ ।’’

उनले कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन अब ढिला गर्न नहुने पनि बताए । समयमा महाधिवेशन नभए पार्टी कमजोर हुने भन्दै उनले तोकिएकै समयमा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘‘कुनै पनि बाहनामा महाधिवेशनको मिति सार्न हुँदैन् ।’’ पार्टीभित्रको अन्तरद्वन्द्व नै कांग्रेस कमजोर हुनुको प्रमुख कारण रहेको पौडेलको भनाइ छ ।

सरकार लोकतन्त्रको मूल्य मान्यतालाई बिर्सेर अघि बढेको पौडेलले आरोप लगाए ।

कांग्रेस महामन्त्री डा। संशाक कोइरालाले महिलाले आफ्नो हक अधिकारका लागि संगठित हुनुपर्नेमा जोड दिए । उनले भने,‘‘पार्टीभित्र हरेक तहतप्कामा महिलालाई ५० प्रतिशत आरक्षण दिइनुपर्छ ।’’

कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले नेतृत्वको अन्तरकलह र लुछाचुँडीले पार्टी झनभन्दा झन् कमजोर बन्दा कार्यकर्तामा निराशा छाएको बताए । अर्का केन्द्रीय सदस्य डा. रामशरण महत, डा. शेखर कोइराला, महेश आचार्य तथा डा. मिनेन्द्र रिजालले सरकारले मानव अधिकार तथा सञ्‍चार जगतलाई विधेयकमार्फत अंकुश लगाउन खोजेको बताए । यसको प्रतिवाद गरिने नेताहरुको भनाइ थियो ।