Swornakshar Logo

बौद्धजोरपाटी सडक आइतबारदेखि कालोपत्रे हुने

लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डको टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न माग गरेका थिए।

सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ।ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले बताए।

बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिए। संङ्घकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताइन्।

सरकारले २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र ४ लेनको बनाउने योजना ल्यायो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।