Swornakshar Logo

उपेन्द्रले शपथ पढे बाबुरामले पढेनन् ,हस्ताक्षर गरे

२४ बैशाख । काठमाडौं । हिजो मात्र घोषणा भएको समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथ लिएका छन् ।

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई हिजो (२३ वैशाखमा) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो ।

आज बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराए ।

उपेन्द्र पार्टी अध्यक्ष र बाबुराम संघीय परिषद् अध्यक्ष हुन् । पार्टीको आधारपत्रमा केन्द्रीय समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ ।
बैठकमा केन्द्रीय समितिका वयोबृद्ध नेता प्रेमकृष्ण पाठक (८० वर्ष)ले उपेन्द्रलाई पहिला शपथग्रहण गराए । लगत्तै यादवले पाठकसहित सबै नेतालाई शपथग्रहण गराएका हुन् ।

बाबुराम र अशोकले हस्ताक्षर गरे, पढेनन्
बैठकमा उपेन्द्रले नेपाली भाषामा लेखिएको शपथग्रहण पढेर अरूलाई वाचन गर्न आग्रह गरेका थिए ।

मञ्चमा बसेका सबैले उठेर शपथ लिए । तर, बाबुराम र अशोकले भने यादवले वाचन गरेको शपथ वाचन नगरी उभिइरहे । जब कि यादवको निर्देशनअनुसार उनीहरुले छातीमा हात भने राखेका थिए ।

जब शपथग्रहण सकियो, उनीहरुले आफ्नो नाम र पद लेखेर शपथग्रहणको व्यहोरामा हस्ताक्षर गरेर जम्मा गरे ।

मातृभाषाको माग सुनिएन
शपथग्रहण समारोहमा केन्द्रीय सदस्यले मातृभाषामा शपथ लिन पाउनुपर्ने माग गरे पनि मञ्चमा बसेका अध्यक्षसहितका पदाधिकारीले सुनेको नसुन्यै गरे ।

उपेन्द्रले ८० वर्षीय वृद्ध केन्द्रीय सदस्यबाट शपथ लिँदै गर्दा केन्द्रीय सदस्यले मातृभाषामा शपथ लिन माग गरिरहेका थिए । तर, जब उपेन्द्र अन्य सदस्यलाई शपथ गराउन पोडियमतर्फ गए, उनले पहिला बाबुरामलाई हेरे अनि फिस्स हाँसे ।

मातृभाषाको मागमा उनले कुटिल तरिका अपनाउँदै बाबुरामतिर हेरेर हाँस्दै भने, ‘सबैले मैले पढेजसरी नै पढ्नुहोला ।’