Swornakshar Logo

मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका तेजबहादुरको उम्मेदवारी खारेज

१८ वैशाख । वाराणासीको जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल बीएसएफ का पूर्व जवान तेज बहादुर यादवको वाराणासी लोकसभा सिटबाट नाम खारेज गरेको छ ।

तेजबहादुरले दुई वटा नामांकन पत्र भरेका थिए । गएको २४ अप्रिलमा निर्दलीय उम्मेदवार र २९ अप्रिलमा समाजवादी पार्टी–बहुजन समाज पार्टीको गठबन्धनको उम्मेदवारको रुपमा नामांकन पत्र भरेका थिए ।

तेज बहादुरले निर्वाचन कार्यालयको विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् । आफ्नो नाम गलत तरिकाबाट रद्द गरिएको भन्दै उनले भने, ‘मलाई भोलि ६ बजेर १५ मिनेटसम्म प्रमाण पेश गर्नको लागि भनिएको थियो । हामीले सबुत पनि दिएका थियौँ, तर पनि मेरो नाम रद्द गरियो । अब हामी सर्वोच्च अदालत जान्छौं ।’

वाराणासी सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टीका वर्तमान संसाद हुन् र यसपटक पनि उनी यहीँबाट नै चुनाव लड्दैछन् । मोदीले गएको २६ अप्रिलमा यहाँबाट आफ्नो नामांकन भरेका थिए । यो सिटमा कांग्रेसका अजय राय र समाजवादी पार्टीकी शालिनी यादवले पनि आफ्नो नाम दर्ता गराएका छन् ।

तर ३० अप्रिलमा तेजबहादुर यादवलाई जिल्ला निर्वाचन अधिकारीले बीएसएफमा हुँदा किन बर्खास्त गरिएको हो स्पष्ट खुलाउन पहिलो सन्देश पठाएको थियो । सन्देशमा उनलाई जिल्ला निर्वाचन अधिकारीसमक्ष १ मे २१०९ अर्थात् ९० वर्षपछि उपस्थित हुन बताएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् । सन् २०१४ मा नरेन्द्र मोदीले तीन लाखभन्दा बढी भोटको अन्तरले जितेका थिए । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई हराएका थिए । मोदीले ५ लाख ८१ हजार भोट ल्याएका थिए । दोस्रो स्थानमा रहेका केजरीवालले २ लाख नौ हजार भोट ल्याएका थिए । कांग्रेसका अजय रायले ७५ हजार भोट ल्याउँदा बहुजन समाज पार्टीका विजयप्रकाश जयशवालले ६० हजार भोट ल्याएका थिए ।