Swornakshar Logo

‘खुला मञ्च कहाँ छ खुला’ भन्दै अभियन्ता उत्रिए प्रदर्शनमा

वैशाख  १२। काठमाडौँ । रत्नपार्कस्थित खुलामञ्चमा भूमाफियाले सटर बनाएर कमाइरहेको र अनेक बहानामा मिचिएको विषयलाई लिएर प्रदर्शन गरिएको छ ।

पुरानो बसपार्कलाई अस्थायी रुपमा खुला मञ्चमै सारिएको थियो । हालै सो स्थानमा बसपार्क व्यवस्थापनको  जिम्मा पाएको ठेकेदार कम्पनीले सटर निर्माण गरेर चर्को मूल्यमा भाडामा लगाएपछि सर्वसाधारण तथा संरक्षणकर्मी अभियान्तहरु स्वतस्स्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् ।‘खुलामञ्च कहाँ छ खुला ’ भन्ने ब्यानर र प्ले कार्ड बोकेर खुलामञ्च बचाउ अभियानका अभियन्ताहरुले आज सो स्थानमा प्रदर्शन गरेका हुन् । नाराबाजीसाथ उनीहरुले सटर समेत बन्द गराएका छन् । प्रदर्शनपछि बन्द गरिएका सटरमा प्रहरीले सुरक्षा दिएको छ ।

प्रदर्शनकारीले ‘जनताले चुनेर जन प्रतिनिधि बनायो, खुला मञ्चमा भष्ट्राचार गनायो’ लगायतका नारा लगाएका छन् । उनीहरुले विभिन्न बहानामा खुला मञ्च मिचिँदै गएको र भोलि यसको अस्तित्व नै मेटिन सक्ने चिन्ता व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्ने भनेर अस्थायी रुपमा बसपार्क खुला मञ्चमा सारेको थियो । उक्त टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले नै बसपार्क व्यवस्थापनको जिम्मा लिएको छ भने सटर बनाएर उसैले भाडामा लगाएपछि यसको विरोध सुरु भएको हो ।