Swornakshar Logo

राष्ट्रपति भण्डारीलाई चीनमा दिइँदैछ राजकीय सम्मान

८ वैशाख । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनमा राजकीय सम्मान दिइने छ । चीनले बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) को दोस्रो शिखर सम्मेलनका क्रममा भ्रमणमा जान लागेका ५ देशका राष्ट्राध्यक्षको भ्रमण राजकीय हुने जनाएको छ । चीनका विदेश प्रवक्ता लु काङलाई उद्धृत गर्दै सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार यसरी राजकीय भ्रमण हुन लागेका राष्ट्रध्यक्षमा नेपाल, चिली, मंगोलिया, पोर्चुगल र स्वीजरल्याण्डका हुन् ।

सो समाचारमा जनाइएअनुसार चिलीका राष्ट्रपति सिबास्टियन पिनेरा र मंगोलियाका राष्ट्रपति खाल्टमान बाटुल्गाले यहि अप्रिल २४ देखि २८ सम्म चीनको भ्रमण गर्नेछन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ सम्म र पोर्चुगलका राष्ट्रपति मार्सेलो रबेलो डि साउसाले अप्रिल २८ देखि मे २ सम्म तथा स्वीजरल्याण्डका राष्ट्रपति उली माउरेरले अप्रिल २३ देखि ३० सम्म राजकीय भ्रमण गर्ने जनाइएको छ ।
नेपालका राष्ट्रपति भण्डारी बेइजिङमा हुने बागवानी सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन कार्यक्रममा पनि सहभागी हुने समाचारमा जनाइएको छ । पाँचै जनालाई चीनका राष्ट्रपति सी जिनपिङले भ्रमणको निम्तो दिएका हुन् । बीआरएफको सम्मेलन यही अप्रिल २५ मा शुरु हुनेछ ।

उता अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले भने अप्रिल २५ देखि २९ सम्म चीनको औपचारीक भ्रमण गर्ने जनाइएको छ । उनलाई चीनका प्रधानमन्त्री ली कुकिआङले निमन्त्रण दिएका हुन् ।