Bagmati Samachar Logo

आफ्नै न्यूजरुमको गोलीकाण्डको समाचारवापत क्यापिटल गजेटलाई पुलित्जर पुरस्कार

बीबीसी
३ बैशाख । काठमाडौं । अमेरिकाको स्थानीय अखबार क्यापिटल गजेटले आफ्नै कार्यालयमा भएको गोलीकाण्डको समाचार कभरेजलाई लिएर यसपालिको पुलित्जर पुरस्कार पाएको छ । यद्यपि त्यो पुरस्कार पाउँदा सो पत्रिकाका स्टाफले कुनै उत्सव भने मनाएनन् ।

उनीहरुले आपसमा अंकमाल गरेरर मृत्यु भएका आफ्ना साथीहरुलाई संझेका थिए । यो पुरस्कार पत्रकारिताको प्रतिष्ठित अमेरिकी पुरस्कार हो । क्यापिटल गजेटको कार्यालयमा भएको सो गोलीकाण्डमा ५ जनाको मृत्यु भएको थियो । बन्दुकधारीले सो अखबारको कार्यालयमा सन् २०१८को जुनमा आक्रमण गरेको थियो ।

सो पुरस्कार न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नललाई समेत दिइएको छ । उनीहरुलाई उक्त पुरस्कार राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा गरेको अनुसन्धानकालागि दिइएको हो । क्यापिटल गजेटको कार्यालयमा भएको आक्रमणलाई अमेरिकी पत्रकारिताको इतिहासमै सबैभन्दा भयानक आक्रमणका रुपमा लिइन्छ । सो पुरस्कार अन्तर्गत १ लाख अमेरिकी डलर नगद दिइन्छ । क्यापिटल गजेटको कार्यालयमा भएको आक्रमणमा स्टाफहरु जोहन म्यानमारा, वेन्डी विन्टर्स, रेबेका स्मीथ, गेराल्ड फिच्म्यान र रब हियासेनको मृत्यु भएको थियो ।

उक्त आक्रमण भएपछि पनि पत्रिका भोलिपल्ट निस्किएको थियो ।

यस्तै पेन्सिलभानियामा ११ जनाको मृत्यु हुने गरी भएको गोलीकाण्डको कभरेज गरेवापत पिटसबर्ग गजेटलाई ब्रेकिङ न्यूज अवार्ड र फ्लोरिडाको स्कूलमा १७ जनाको ज्यान जानेगरी भएको गोलीकाण्डको कभरेज वापत साउथ फ्लोरिडा सन सेन्टीनेललाई पनि पुरस्कार दिइएको छ । यस्तै यमन र आलोचना सम्बन्धी दुई विषयलाई लिएर फोटो पत्रकारिताको पुलित्जर पुरस्कार वाशिङटन पोष्टले पाएको छ । म्यान्मारमा रोहिंग्या समुदायका १० जना मानिसको हत्याको विषय कभरेज गरेकोमा रोयटर्स समाचार समितिलाई पनि अवार्ड दिइएको छ ।