Swornakshar Logo

बारमा वामपन्थीको जित

२१ चैत । काठमाडौं । देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा वामपन्थीको जित भएको छ ।

६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बारको अध्यक्ष निर्वाचित भएका थिए । कार्की अध्यक्ष निर्वाचित भएपनि महासचिवसहित बहुमत पदमा लोकतान्त्रिक समूहले जितेको थियो ।

कार्कीको पालामा महासचिव चुनिएका सुनिल पोखरेल यसपटक लोकतान्त्रिक समूहबाट अध्यक्षमा लडेका थिए । तर, वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग १४९ मतान्तरले पराजित भएका छन् । श्रेष्ठले ४०२२ मत प्राप्त गरी वामपन्थी प्यानललाई विजयी बनाए भने पोखरेल ३८७३ मतमा सिमित भए ।

२०१३ सालमा स्थापना भएको नेपाल बार एशोसिएसनमा अधिकांश समय कांग्रेस समर्थित वकिलले जित्दै आएका थिए । पछिल्लो पटक शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्की वामपन्थी समूहबाट बारको नेतृत्वमा आए । तीन वर्षअघि तत्कालीन दुई कम्युनिष्ट मिल्दा पनि लोकतान्त्रिक समूहका शेरबहादुर केसीको प्यानल नै विजयी भएको थियो । तर, यो ३ वर्षमा केसी नेतृत्वको बार एशोसिएसनको भूमिका कमजोर देखिएको थियो ।

बारको चुनावलाई कम्युनिस्ट सरकारको लोकप्रियतसँग जोडेर प्रचार गरेकाले पनि नेकपासम्वद्ध वकिलहरु दबावमा थिए । वामपन्थीले जितेमा सत्ताको ताबेदारी गर्ने र स्वतन्त्र न्यापालिकाको पक्षमा उभिन नसक्ने विपक्षीको दाबी थियो ।

नेपाल बारमा वामपन्थी प्यानलको विजयले सत्तारुढ नेकपालाई राहत मिलेको छ । महासचिव र प्रदेश ५ को उपाध्यक्ष भने लोकतान्त्रिक प्यानलले जितेको छ ।

बार निर्वाचनको अन्तिम परिणाम यस्तो छ

अध्यक्षः चण्डेश्वर श्रेष्ठ

उपाध्यक्षहरू

प्रदेश १ मानबहादुर रुम्दाली

प्रदेश २ रामचन्द्र सिंह

प्रदेश ३ ईश्वरीप्रसाद भट्टराई

गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर

प्रदेश ५ सुनिलकुमार श्रेष्ठ

कर्णाली प्रदेश मिनबहादुर महत

सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट

खुला क्षेत्रः रक्षा वस्याल

महासचिव लिलामणि पौडेल

कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल

सदस्यहरू

दलित मोहन साशंकर

मधेशी र मुश्लिम उपत्यका वाहिर पंचनारायण मण्डल

मधेशी र मुश्लिम खुल्ला वीरेन्द्रकुमार ठाकुर

आदिवासी र जनजाति उपत्यका बाहिर विनाकुमारी सिंह (चौंधरी)

आदिवासी र जनजाति खुला बद्रीनारायण नगरकोटी

महिला उपत्यका बाहिर कल्पनाकुमारी भण्डारी

महिला खुला अन्जु कायस्थ

खुलातर्फ

डा. शिवराज पण्डित (उपत्यका बाहिर)

गंगासागर खत्री

भीमसेन वन्जारा

भुवनप्रसाद निरौला

प्रकाश महर्जन

बालकृष्ण गैरे

खिमानन्द अधिकारी

नेपाल बार एसोसिएसनको नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन कमिटीलाई धन्यवाद दिएका छन् ।
मत परिणाम गनेर सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायलयमाथि अविश्वास बढेको भन्दै त्यो अविश्वासलाई मेटाउन आफूहरुले भरपुर प्रयास गर्ने दावी गरेका छन् ।

प्रतिद्वन्द्वी सुनिल पोखरेल लगायतलाई आफूहरुले गर्ने सबै काममा सहयोग गर्न आग्रह गर्दै श्रेष्ठले आगामी दिनमा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गरे ।

‘देश संघीय संरचना गएको छ । गाउँपालिका÷नगरपालिकामा न्यायलय छैन्,’ उनले भने, अब गाउँपालिका÷नगरपालिकामा छिट्टै नै न्यायधीश भर्ती गर्ने काम सुरु हुन्छ ।’