Swornakshar Logo

हावाहुरीले बिचल्लीमा बालबालिका

१९ चैत । काठमाडौं । बारा र पर्साका विभिन्न क्षेत्रमा गत आइतबार बेलुकी गएको हावाहुरीले सबैभन्दा धेरै बालबालिका प्रभावित भएका छन् । परिवारका ठूला सदस्यको मृत्यु हुदा र घाईते भएर अस्पताल भर्ना गरिएपछि बालबालिकाको बिचल्ली भएको हो ।

भरवलियाकी ६ वर्षीय नुतन कुर्मी आमा घाइते भएपछि एक्लै छिन् । हुरी आएको दुई रात सडकमै आफन्तसँग बिताएकी नुतनलाई अहिले उनका छिमेकीले हेरिरहेका छन् ।

‘मलाई त केही थाहा छैन, घर हल्लियो त्यसपछि आमाले मलाई समाएको मात्रै याद छ,’ नुतनले भनिन् । नुतनकी छिमेकी सान्तिया देवीका अनुसार नुतनकी आमाको ढाडमा पर्खाल खसेको हो । नुतनको जिम्मेवारी सम्हालिरहेकी सान्तिया देवीका पनि ३ सन्तान छन् ।

सन्तान सम्हालने कि उनीहरुका लागि खाने कुराको जोहो गर्ने भन्ने पीर छ उनलाई । ‘यिनीहरुलाई सम्हाल्नु कि खाना खोज्नु, म केही गर्न सकिरहेकी छैन्’ सान्तिया देवीले बालबच्चा देखाउदै भनिन् ।

१३ वर्षका रोहबर अन्सारीको परिवारका ४ जनाको मृत्यु भएपछि उनी अहिले एक्लै छन् । हुरीले घर भत्किदा रोहबरकी आमा, हजुरआमा, फुपु र फुपुका एक छोराको मृत्यु भयो भने रोहबरका बुबा साहेब अन्सारी मिया घाईते भए ।

साहेबको अहिले नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । परिवारका सदस्य कोही नभएपछि रोहबर अहिले छिमेकीसँग बसिरहेका छन् । रोहबरलाई भेट्न आउने छिमेकी र गाउँलेले उनको हातमा सहयोग स्वरुप केही रकम थमाएर जान थालेका छन् ।

चाउचाउ, बिस्कुट, चिउरा र सख्खरको भरमा दुई दिन बिताएका कतिपय बालबालिकाको जिउमा पर्याप्त लुगा पनि छैन । खाद्यान्न अभावका कारण बालबालिका पोलिथिनमा राखिएको भात खाइरहेका छन् ।