Bagmati Samachar Logo

हावाहुरीपीडितलाई ३ नं.प्रदेश सरकारको साथ

१९ चैत । बारा । प्रदेश–२ को आँधी हुरीको कारण बारामा मानवीय क्षति हुनुका साथै करिब चार सय जना घाइते भएका छन् । यस्तो अवस्थामा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली पनि घटनास्थलमा पुगेको छ ।

सोमबार विहान पौडेलको नेतृत्वमा टोली बारा पुगेको हो । घटनास्थलमा मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकास मन्त्री युवराज दुलाल पनि गएका छन् ।

पीडामा परेकाको उपचार र मृतक परिवारलाई सहयोग गर्न कसर बाँकी नराखिने मुख्यमन्त्री पौडेलले बताए । हावाहुरीका कारण सबैभन्दा बढी क्षति सहेको बाराको फेटा गाउँपालिका–१, पुरनियामा पुगेका हुन पौडेल ।

पुरैनियामा ९ जनाको मृत्यु भएको छ । घरहरुमा पनि व्यापक क्षति छ । मुख्यमन्त्रीले मृतकका परिवारलाई भेट्नुका साथै घाइतेसँग पनि भेट गरेका छन् । छिमेकी प्रदेशमा समस्या पर्दाको पीडा सम्बोधन गर्न प्रदेश–३ सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताए ।
मन्त्री दुलाल नौं जना स्वास्थ्यकर्मीको टोली लिएर बारामा छन् । मन्त्री दुलालले बाराको कलैया अस्पतालमा प्रदेशका स्वास्थ्यकर्मीलाई लिएर गएका छन् । हेटौंडाबाट गएका स्वास्थ्यकर्मीले त्यहाँ उपचार सेवा दिएइ रहेकाछन् । हुरीमा परी घाइते भएकालाई भेटेर का छन् ।

हुरीमा परी घाइते भएकाको उपचारका लागि सहयोग गरिने मन्त्री दुलालले बताए । दुलाल कलैया अस्पताल पनि गएका थिए।

खानेकुरा र अन्नपात माटोमा मिसिएका छन् । उनीहरुलाई तत्काल पानी र खानेकुरा आवश्यक रहेको छ । रात खुला आकाशमा बिताएका उनीहरु के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् ।

स्थानीयले ३ हजार घरमध्ये ८० प्रतिशत घरमा क्षति पुगेको बताएका छन् । हावाहुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन । तीव्रगतिमा आएको हुरीका कारण ढलेका बिजुलीका पोल, रुख र घरका पर्खालमा च्यापिएर घरभित्र बसेकाहरुको मृत्यु भएको थियो । हुरीबतासका कारण धेरै जना घाइते भएको अनुमान छ । मृत्यु हुने र घाइतेको संख्या बढ्नसक्ने अनुमान छ । राति करिब ९ बजेदेखि आधा घण्टा असिनापानीसँगै हुरीबतास आएको थियो ।