Swornakshar Logo

जनकपुर बम बिष्फोट प्रकरणः पूर्व राज्यमन्त्री टकलालाई जन्मकैद

१४ चैत । काठमाडौ । जनकपुर बम बिष्फोट काण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्व राज्यमन्त्री तथा सांसद सञ्जय कुमार शाह (टकला) सहित सात जनालाई जन्मकैदको सजाय हुने फैसला गरेको छ ।

टकलासँगै जन्मकैदको सजाय पाउनेमा मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, योगेश कुमार कर्ण, मुकेश कर्ण र जितन्द्र झा छन् भने अर्का अभियुक्त ओमप्रकाश यादवलाई भने ५ वर्षको कैद सजाय गर्ने फैसला गरेको छ ।

न्यायाधीस राजेश कुमार कटुवालको इजलासले टकला सहित सातैजनालाई बम बिष्फोट अभियोगमा जन्मकैद र ज्यान मार्ने कसुरमा थप १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।

१८ बैशाख २०६९ मा जनकपुरमा बम बिष्फोट गराई व्यक्ति हत्या गरेको आरोपमा जेलमा रहेका टकलालाई अदालतले कैद सजाय सुनाएको हो । जनकपुर बम काण्डका मुख्य योजनाकार मानिएका टकला तत्कालिन सद्भावना पार्टीबाट धनुषा–४ बाट साँसद बनेका थिए ।

जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए । प्रहरीले घटनामा अनुसन्धान पछि उनीबिरुद्ध २९ जेठ २०६९ मा पहिलो अभियोग पत्रदर्ता गराएको थियो । मुद्दामा मुकेश चौधरी, राजन मुक्ति,जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई अभियुक्त बनाइएको छ ।

२४ चैतमा प्रहरीले पुरक अभियोगपत्र दर्ता गरी मुख्य अभियुक्तका रुपमा तत्कालिन सांसद सञ्जयकुमार साह ९टकला० लाई कैद सजाय माग गरेको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला सुनियोजित ढँगले गराइएको बम विष्फोटमा परी पाँच जनाको ज्यान गएको थियो भने दर्जनौ घाईते भएका थिए ।

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रञ्जु झा सहित झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । बम विष्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्व साँसद टकला जेलमै छन् ।