Swornakshar Logo

अख्तियारका पूर्व आयुक्त पाठकबिरुद्ध भ्रष्टाचार मुद्धा

१२ चैत । काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इञ्जिनीयरिङ कलेज सम्बन्धित विवाद मिलाउन पदको दुरुपयोग गरी ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विशेष अदालतमा बुझाइएको अभियोगपत्रमा घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ । उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने उल्लेख छ । भ्रष्टाचार प्रमाणित भए पाठकलाई यो व्यवस्था अनुसार १२ वर्षसम्म कैद हुनेछ ।

अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो र त्यतिनै जरिमाना माग गरिएको छ ।